काठमाडौं। असोज २६ गते सोमबार, लायन्स क्लब अफ काठमाडौं बबरमहलको आयोजनामा त्रिशूली क्षेत्रमा बाढीबाट प्रभावित परिवारलाई राहत सामग्री वितरण गरिएको छ। विदुर नगरपालिका वडा नं. १ का किशन श्रेष्ठको समन्वयमा सम्पन्न राहत वितरण कार्यक्रममा बाढीबाट प्रभावित ३५ परिवारलाई दैनिक जीवनयापनमा आवश्यक विभिन्न सामग्री प्रदान गरिएको हो।
राहत सामग्रीअन्तर्गत इन्फ्रारेड चुलो, राइस कुकर, कराही, प्रेसर कुकर, थाल, कचौरा,गिलास, चम्चा,डाडु पन्यु ,दाल, गेडागुडी,चामल, चिउरा ,नुन,तेल , कम्बललगायतका खाद्यान्न तथा दैनिक उपभोग्य सामग्री वितरण गरिएको थियो। बाढीबाट प्रभावित परिवारलाई तत्काल राहत पुर्याउने तथा उनीहरूको दैनिक जीवनयापन सहज बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।
लायन्स इन्टरनेसनलले विपद्मा परेका नागरिकलाई राहत उपलब्ध गराउनुका साथै पुनर्निर्माणमा समेत सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। बाढीपहिरोबाट क्षति पुगेका घरहरूको पुनर्निर्माणका लागि सरकारलाई आवश्यक सहयोग तथा सहकार्य गर्दै पुनःसथापना कार्यमा पनि प्रतिबद्धता व्यक्त गरिएको छ। यसका लागि २ लाख अमेरिकी डलर बराबरको सहयोगको प्रतिबद्धता रहेको जनाइएको छ।
उक्त कार्यक्रममा लायन्स डिस्ट्रिक ३२५ एच का अध्यक्ष उद्धव सिलवालले लायन्सको सेवाका कृयाकलाप बारेमा जानकारी दिनुभएको थियो भने, लायन्स इन्टरनेसनलका लिडर पिएमसिसि पंकज प्रधान, द्वितीय अध्यक्ष रामकृष्ण बि सि,पिडिजि लायन शम्भु वहादुर थापा,सचिन कर्माचार्य, सुरेन्द्र व्यञ्जनकार, तारा मैनाली लगायतका नेतृत्वको उपस्थितीमा कार्यक्रम सञ्चालन भएको थियो।। उक्त कार्यक्रमको संचालन जिल्ला सेवा संयोजक लायन मुकुन्द प्रसाद मैनालीले गर्नुभएको थियो।।
त्यसैगरी, लायन्स इन्टरनेसनलले प्रधानमन्त्री राहत कोषमा १ करोड ११ लाख १सय ११रुपैयाँ सहयोग उपलब्ध गराएको छ। विपद् प्रभावित नागरिकको राहत, पुनःस्थापना तथा पुनर्निर्माणका कार्यमा सहयोग पुर्याउने उद्देश्यले उक्त सहयोग गरिएको हो।
यसअघि ललितपुरको धापाखेल क्षेत्रमा पहिरोका कारण घर क्षति भएका पीडित परिवारलाई समेत लायन्स इन्टरनेसनलले राहत सहयोग प्रदान गरेको थियो। संस्थाले आगामी दिनमा पनि आवश्यकताअनुसार थप सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।
प्राकृतिक विपद्का कारण प्रभावित नागरिकलाई राहत उपलब्ध गराउने, उनीहरूको पुनःस्थापनामा सहयोग गर्ने तथा क्षतिग्रस्त संरचनाको पुनर्निर्माणमा सहकार्य गर्ने लायन्स इन्टरनेसनलको पहलले विपद्को समयमा सामाजिक संघसंस्थाको भूमिका र मानवीय सहयोगको महत्त्वलाई उजागर गरेको छ।