ललितपुर, चैत । आत्महत्या सम्बन्धी समाचारलाई संवेदनशील र जिम्मेवार ढंगले प्रस्तुत गर्ने विषयमा पत्रकारहरूका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम जनस्वास्थ्य कार्यालय ललितपुरमा आयोजना गरिएको हो।
कार्यक्रममा नेपाल पत्रकार महासंघ ललितपुर शाखाका अध्यक्ष रामहरि कार्की तथा ललितपुरमा सक्रिय पत्रकारहरूको उल्लेख्य सहभागिता रहेको थियो।
सत्रको सुरुवात मानसिक स्वास्थ्यसम्बन्धी चिकित्सकहरूको प्रस्तुति बाट भएको थियो। उनीहरूले आत्महत्या सम्बन्धी समाचार सम्प्रेषण गर्दा अपनाउनुपर्ने संवेदनशीलता, त्यसको सामाजिक प्रभाव र सञ्चारकर्मीको जिम्मेवारीबारे जानकारी दिएका थिए।
प्रस्तुतिका क्रममा विश्वस्तरमा आत्महत्याको अवस्थाबारे पनि तथ्याङ्क प्रस्तुत गरिएको थियो। विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभर हरेक वर्ष ८ लाखभन्दा बढी मानिसले आत्महत्या गर्ने गरेका छन् भने करिब प्रत्येक ४० सेकेन्डमा एक जनाले ज्यान गुमाउने तथ्याङ्क रहेको बताइएको थियो। साथै, एक सफल आत्महत्याको पछाडि करिब २५ पटकसम्म प्रयास हुने अध्ययनले देखाएको जानकारी पनि दिइएको थियो।
कार्यक्रमको सभापतित्व ललितपुर जनस्वास्थ्य कार्यालयका प्रमुख डा. खगेश्वर गेलालले गरेका थिए। वक्ताहरूले “स्वस्थ मन, स्वस्थ जीवन” भन्ने नारालाई जोड दिँदै मानसिक स्वास्थ्यप्रति समाजमा सचेतना बढाउन सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण हुने बताएका थिए।
कार्यक्रममा आत्महत्या रोकथाममा सञ्चारकर्मीहरूको महत्वपूर्ण भूमिका रहने विषयमा पनि चर्चा गरिएको थियो। आत्महत्यासम्बन्धी समाचारलाई अनावश्यक रूपमा केन्द्रबिन्दु नबनाउने, सनसनीपूर्ण वा सामान्यीकरण गर्ने भाषा प्रयोग नगर्ने, आत्महत्याको साधन र तरिकाबारे विस्तृत विवरण नदिने तथा त्यस्ता घटनासँग सम्बन्धित फोटो, भिडियो वा डिजिटल लिंक प्रयोग नगर्न सुझाव दिइएको थियो।
त्यस्तै, समस्यामा परेका व्यक्तिहरूलाई सहयोग लिन सकिने स्थानबारे जानकारी दिनु तथा आत्महत्या रोकथामका लागि जनचेतना जगाउने खालका सामग्री प्रसारण गर्न सञ्चारमाध्यमलाई आग्रह गरिएको थियो। कार्यक्रममा मानसिक समस्या वा तनावमा रहेका व्यक्तिहरूले परामर्श लिन सक्ने हटलाइन नम्बर ११६६ रहेको जानकारी पनि दिइएको थियो।
सहभागी पत्रकारहरूले यस्ता अभिमुखीकरण कार्यक्रमले जिम्मेवार पत्रकारिता प्रवर्द्धन गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेका थिए।