नेपाल पत्रकार महासंघ ललितपुर शाखाले ‘हीरा–सिद्धि क्रियाशील पत्रकारिता पुरस्कार’ घोषणा

ललितपुर, जेठ २५ । नेपाल पत्रकार महासंघ ललितपुर शाखाले ‘हीरा–सिद्धि क्रियाशील पत्रकारिता पुरस्कार’को घोषणा गरेको छ। शनिबार महासंघको कार्यमूलक बैठकबाट पाँच लाख रुपैयाँ राशीको अक्षयकोष स्थापनासहित पुरस्कारको घोषणा गरिएको हो।

ललितपुरका समाजसेवी सिद्धिबहादुर महर्जनले आफ्नी स्वर्गीय धर्मपत्नी हिराकुमारी महर्जनको स्मृतिमा महासंघलाई पाँच लाख रुपैयाँको अक्षयकोष हस्तान्तरण गरेका हुन्।

घोषणासभामा वरिष्ठ पत्रकार प्रभुनारायण बस्नेतले महर्जन परिवारको यो योगदानले पत्रकारिता क्षेत्रमा महत्त्वपूर्ण प्रेरणा दिने भन्दै प्रशंसा गरे। उनले भने, “यस पुरस्कारले पत्रकारहरूलाई निष्पक्ष र निर्भीक ढङ्गले कलम चलाउन प्रोत्साहन मिल्नेछ।”

महासंघ ललितपुरका पूर्वअध्यक्ष ज्ञानप्रसाद पौडेलले आफूले नेतृत्व गरेको शाखाले पत्रकारिताको विकासका लागि सकारात्मक काम गर्दै आएकोमा खुसी व्यक्त गरे।

नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समितिका अध्यक्ष टेनिस रोकाले उपत्यकाका तीन जिल्लामध्ये ललितपुर शाखा सबैभन्दा बढी क्रियाशील रही पत्रकारहरूको हकहितमा काम गरिरहेको बताए।

महासंघ ललितपुरका अध्यक्ष रामहरी कार्कीले ‘हीरा–सिद्धि पुरस्कार’ शाखाको हरेक वार्षिक साधारणसभामा जिल्लामा क्रियाशील दुईजना पत्रकारलाई पुरस्कृत गरिने जानकारी दिए। “यो पुरस्कार विशेषगरी स्थानीय सरोकार, धर्म, संस्कृति र कलाका क्षेत्रमा कलम चलाउने पत्रकारलाई प्रदान गरिनेछ,” उनले स्पष्ट पारे।

अक्षयकोषको रकम हस्तान्तरणसँगै पुरस्कार कोष औपचारिक रूपमा कार्यान्वयनमा आएको महासंघ ललितपुर शाखाका सचिव दीपक अर्यालले जानकारी दिए।

घोषणा कार्यक्रममा स्वर्गीय हीराकुमारी महर्जनका छोराहरू प्रेम सिंह महर्जन र सरोज डंगोलको पनि उपस्थिति रहेको थियो।

Comments (0)
Add Comment