ललितपुर, असार २२ – माध्यमिक शिक्षा परीक्षा (SEE) 2081 मा सहभागी भई सफल भएका ललितपुरका ५०० भन्दा बढी विद्यार्थीहरूलाई नेपाल निजी विद्यालय सञ्जाल (NePS Nepal) ले NePS Nepal SEE Award – 2082 अन्तर्गत भव्य रूपमा सम्मान गरेको छ।
प्याब्सन केन्द्रका प्रमुख सल्लाहकार डी.के. ढुङ्गानाज्यूको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रममा प्याब्सन केन्द्रका उपाध्यक्ष ईश्वर बहादुर गुरुङ, उपाध्यक्ष टङ्क भट्टराई लगायतका विशिष्ट अतिथिहरूको उपस्थिति थियो।
कार्यक्रम NePS Nepal का संस्थापक अध्यक्ष कैलाश कुमार मल्ल (के.के. मल्ल) को अध्यक्षतामा सञ्चालन भएको हो। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई प्रशंसा पत्र, दोसल्ला ओढाई र अबिर लगाई सम्मान गरिएको थियो।
सोही अवसरमा सबैभन्दा धेरै GPA 4 प्राप्त गराउँदै जिल्ला टप गर्ने विद्यालय जेम्स स्कूल, धापाखेल लाई विशेष सम्मान गरियो। यस्तै, ललितपुरका अन्य विभिन्न विद्यालयहरूबाट GPA 4 ल्याउने विद्यार्थीहरूलाई मेडल, प्रमाणपत्र र खादासहित सम्मान प्रदान गरिएको थियो।
कार्यक्रममा प्याब्सन ललितपुर अन्तर्गतका ४५ विद्यालयका SEE ग्राजुएट विद्यार्थीहरूलाई पनि भव्य सम्मान गरिएको थियो। SEE पछि कुन विषय, कहाँ, कस्तो ठाउँमा पढ्दा भविष्य उज्वल हुन्छ भन्ने विषयमा सम्बन्धित शैक्षिक विज्ञहरूमार्फत स्पष्ट जानकारी दिइएको थियो। यसले सहभागी विद्यार्थीहरूलाई मार्गदर्शन प्रदान गर्नुका साथै उत्साहित बनाएको देखिन्थ्यो।
कार्यक्रमको समापन गर्दै अध्यक्ष मल्लले आगामी वर्ष NePS Nepal Award – 2083 लाई अझ भव्य रूपमा आयोजना गर्ने प्रतिबद्धता व्यक्त गरे। साथै, कार्यक्रममा आर्थिक, भौतिक तथा प्राविधिक सहयोग गर्ने +2 तथा कलेजहरू – मोलिस कलेज, निर्भाना कलेज, मेगा कलेज, क्यास्पियन भ्याली कलेज, ओमेगा कलेज, ब्ल्यूबर्ड कलेज, पिनाकल कलेज र DAV साथै सवै सहयोगदाताप्रति विशेष धन्यवाद व्यक्त गर्दै कार्यक्रम समापन भएकाे थियो।