पत्रकारहरूलाई लक्षित गरी एकदिने बृहत स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न

4

ललितपुर, १७ जेठ – नेपाल पत्रकार महासंघ ललितपुर शाखाको समन्वयमा शुक्रबार ललितपुरमा क्रियाशील पत्रकारहरूलाई लक्षित गरी एकदिने बृहत स्वास्थ्य शिविर सम्पन्न भएको छ। जनस्वास्थ्य कार्यालय ललितपुर र बज्रबाराही चापागाउँ अस्पतालको सहकार्यमा आयोजित उक्त शिविरमा ७७ जना पत्रकारले स्वास्थ्य परीक्षण गराएका छन्।

शिविरमा विभिन्न नसर्ने रोग, भिडियो एक्सरे, मुटु र मृगौला परीक्षण, आँखा, दन्त, मधुमेह, आरएफटी, एलएफटी, सिबिसी, स्त्रीरोग जस्ता सेवा निःशुल्क प्रदान गरिएको थियो। साथै ६० वर्षभन्दा माथिका पत्रकारलाई निःशुल्क चश्मा वितरण गरिएको थियो।

पत्रकार महासंघ ललितपुर शाखाका अध्यक्ष रामहरि कार्कीले शिविर निकै प्रभावकारी भएको बताउँदै सहभागी पत्रकारहरूले ठुलो लाभ लिएको जनाए। परीक्षण गरिएका पत्रकारमध्ये २७ जनामा मधुमेह र १० जनामा उच्च रक्तचापका लक्षण देखिएको बज्रबाराही चापागाउँ अस्पतालका डा. अमरदिप साहले जानकारी दिए। उनले पत्रकारहरू अरूलाई सूचना दिन खटिँदा आफ्नै स्वास्थ्यमा पनि ध्यान दिन जरुरी रहेको बताए।

अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. अंकुर पौडेल र जनस्वास्थ्य कार्यालयका प्रमुख डा. भुवन पौडेलले पनि पत्रकारहरूको स्वास्थ्यप्रति सजगता आवश्यक रहेकोमा जोड दिँदै यस्ता शिविरलाई निरन्तरता दिने प्रतिबद्धता जनाए।

नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समितिका अध्यक्ष टेनिस रोकाले शिविरलाई उदाहरणीय भन्दै ललितपुर शाखा, जनस्वास्थ्य कार्यालय र बज्रबाराही चापागाउँ अस्पताललाई धन्यवाद ज्ञापन गरे। उनले अन्य जिल्लाले पनि यस्ता कार्यक्रमबाट प्रेरणा लिनुपर्ने बताए।

oppo_2

शिविरमा चिकित्सकहरूले स्वस्थ जीवनशैली अपनाउन, खानपानमा सन्तुलन राख्न, नियमित व्यायाम गर्न तथा नियमित कम्प्युटर प्रयोग गर्दा देखिने दृष्टि समस्या रोक्न सावधानी अपनाउन सल्लाह दिएका छन्। पिसाबसम्बन्धी समस्या भएका पत्रकारलाई प्रशस्त पानी पिउन तथा सुगर र प्रेसर भएका पत्रकारलाई खानपान र व्यायाममा ध्यान दिन सुझाव दिइएको थियो।।

Leave A Reply

Your email address will not be published.