वाईसीएल नेपाल बागमती प्रदेशको प्रथम सम्मेलनमा अध्यक्षमा भक्तपुरका नरेश रञ्जित निर्वाचित
भक्तपुर, जेठ ८ – नेकपा माओवादी केन्द्रको युवा संगठन योङ कम्युनिस्ट लिग (वाईसीएल) नेपाल, बागमती प्रदेशको प्रथम ऐतिहासिक सम्मेलन भक्तपुरको मध्यपुर थिमिमा भव्य रुपमा सम्पन्न भएको छ। लोकतान्त्रिक प्रक्रिया अनुसार सम्पन्न सम्मेलनले नरेश रञ्जितको अध्यक्षतामा ९९ सदस्यीय नयाँ प्रदेश समिति निर्वाचित गरेको छ।
प्रदेश अध्यक्षमा भक्तपुरका नरेश रञ्जित निर्वाचित भएका छन्। उपाध्यक्षमा रेशम तामाङ ‘प्रयास’, सुवास अधिकारी र सुनिता गिरी चयन भएका छन्। सचिवमा डेमासाङ योञ्जन (प्रदीप) तथा सहसचिवमा विकास श्रेष्ठ, प्रितिमा तामाङ, सनम महर्जन, सुदीप के.सी., अर्जुन तामाङ, विष्णु नेगी, र दिपेन्द्र बुढाथोकी रहेका छन्। कोषाध्यक्षको जिम्मेवारी रोमी घलेले पाएका छन्।
यसैगरी, प्रदेश निर्वाचन आयोगको प्रमुखमा छबिलाल चापागाईं (सन्तोष), अनुशासन आयोगको प्रमुखमा नवराज लामिछाने र लेखा आयोगको नेतृत्व आइते तामाङले लिएका छन्।
सम्मेलनको उद्घाटन माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन ‘अनन्त’ ले गर्नुभएको थियो। सम्मेलनमा वाईसीएलका अध्यक्ष सुबोध सेर्पाली, वरिष्ठ उपाध्यक्ष ज्ञानेन्द्र बहादुर गुरुङ (कसम), महासचिव गणेश साही, बागमती प्रदेश इन्चार्ज हितमान शाक्य, केन्द्रिय सदस्य सूर्य सुवेदी (पथिक), रामप्रसाद सापकोटा (दीपशिखा), ललित श्रेष्ठ (अभियान) लगायतको उपस्थितिले कार्यक्रमलाई थप प्रभावशाली बनाएको थियो।
चार सयभन्दा बढी प्रतिनिधिको सहभागितामा सम्पन्न भएको सम्मेलनले संगठन सुदृढीकरण, युवाको सशक्तिकरण र समाज परिवर्तनमा युवाको भूमिकालाई केन्द्रमा राख्दै नयाँ नेतृत्वलाई जिम्मेवारी सुम्पिएको छ।
नव–निर्वाचित अध्यक्ष रञ्जित यसअघि वाईसीएल केन्द्रीय सदस्य तथा भक्तपुर जिल्ला इन्चार्जका रूपमा क्रियाशील थिए। उनी हाल माओवादी केन्द्रको मध्यपुर थिमी नगर उपाध्यक्षसमेत हुन्। अध्यक्षमा निर्वाचित भएपछि रञ्जितले आफ्नो कार्यकालमा संगठनलाई सशक्त बनाउने र युवालाई सामाजिक रूपान्तरणको मूलधारमा सक्रिय बनाउने अठोट व्यक्त गरेका छन्।
सम्मेलनको अवसरमा वाईसीएलले रक्तदान कार्यक्रमसमेत आयोजना गरेको थियो, जसमा उल्लेख्य संख्यामा युवाहरुले सहभागिता जनाएका थिए।
बागमती प्रदेशमा आयोजित यो प्रथम सम्मेलनले वाईसीएललाई नयाँ ऊर्जा, दिशा र नेतृत्व प्रदान गर्दै आगामी दिनमा थप प्रभावकारी गतिविधिको संकेत गरेको छ।