‘गौविज्ञान कथा’ मार्फत गाईसम्बन्धी ज्ञान प्रवाह
काठमाडौं — नेपालमै पहिलोपटक आयोजना गरिएको ‘गौविज्ञान कथा’ कार्यक्रम दुई दिनसम्म सञ्चालन भई सफलतापूर्वक सम्पन्न भएको छ। गौसंरक्षण अभियानको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा गाईसँग सम्बन्धित आध्यात्मिक, वैज्ञानिक तथा स्वास्थ्यसम्बन्धी विषयमा विस्तृत रूपमा चर्चा गरिएको थियो।

कार्यक्रम पशुपतिनाथ मन्दिर (दक्षिण ढोका) नजिक सुमार्ग स्मृति भवनमा आयोजना गरिएको थियो।
कार्यक्रममा प्रमुख अतिथिका रूपमा भारत सरकारका पूर्व सचिव (IAS, सेवानिवृत्त) डा. कमल दवड़ी सहभागी थिए। त्यसैगरी मुख्य अतिथिका रूपमा पारम्परिक वैद्यरत्न तथा गव्य सिद्धाचार्य, सेवारत्न पञ्चगव्य विद्यापीठका गुरुकुलपति श्री निरञ्जन कुमार वर्माको उपस्थिति रहेको थियो।
दुई दिनसम्म सञ्चालन भएको कार्यक्रममा ‘गौविज्ञान कथा’ प्रवचन गरिएको थियो। सहभागीहरूका लागि भोजनको व्यवस्था गरिएको थियो भने दिउँसो निःशुल्क नाडी परीक्षण तथा स्वास्थ्य परामर्श सेवा पनि उपलब्ध गराइएको थियो।
प्रमुख अतिथि डा. दवड़ीले गौसंरक्षण धार्मिक मात्र नभई वैज्ञानिक र आर्थिक दृष्टिले समेत महत्वपूर्ण रहेको उल्लेख गर्दै यसको संरक्षण र प्रवर्द्धनमा सबैको ध्यान जानुपर्ने बताए। मुख्य अतिथि वर्माले गौविज्ञानले मानव स्वास्थ्य, कृषि तथा वातावरण संरक्षणमा सकारात्मक प्रभाव पार्न सक्ने धारणा राख्दै पञ्चगव्यको प्रयोगलाई व्यवहारमा उतार्नुपर्नेमा जोड दिए।
कार्यक्रम गौ भक्त स्मृति राणाको सभाध्यक्षतामा सम्पन्न भएको थियो। आयोजकका अनुसार कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तिहरूको उत्साहजनक सहभागिता रहेको थियो।