इमाडोल युनिटी क्लबद्वारा आयोजित आमन्त्रित तेक्वान्दो प्रतियोगिता भव्यता पूर्वक सम्पन्न

6

ललितपुर / इमाडोल युनिटी क्लबद्वारा आयोजित तथा महालक्ष्मी वडा नं. १ को प्रायोजनमा वडा स्तरीय आमन्त्रित तेक्वान्दो प्रतियोगिता २०८२ सालको वैशाख २९ गते सोमबारका दिन लोक स्मृति माध्यमिक विद्यालय, नयाँ बस्ती, इमाडोलमा भव्य रूपमा सम्पन्न भएको छ। बुद्ध जयन्ती तथा उभौली पर्वको अवसरमा सामाजिक विकास अन्तर्गत युवा तथा खेलकुद कार्यक्रममार्फत आर्थिक वर्ष २०८१/०८२ को बजेटबाट प्रतियोगिता आयोजना गरिएको हो।

प्रतियोगिताको उद्घाटन नगर प्रमुख श्री हरिगोविन्द श्रेष्ठले गर्नुभएको थियो भने उप-प्रमुख लक्ष्मी महर्जन, वडा अध्यक्ष छिरिङ लामा, राष्ट्रिय तेक्वान्दो संघ नेपालका महासचिव राकेश कुमार राईलगायत अतिथिहरूको उपस्थिति रहेको थियो। कार्यक्रमको सभापतित्व गोपाल श्रेष्ठले गरेका थिए भने सञ्चालन दाताराम कार्कीले गरेका थिए। त्यसै गरि कार्यक्रममा स्वागत मन्तब्य क्लबको उपाध्यक्ष श्री मोहन बहादुर पाण्डे र क्लबको सदस्य दिदी बहिनीहरुले स्वागत गित मार्फत अतिथिहरुलाई न्यानो स्वागत गर्नु भएको थियो ।

फाइटतर्फ महिला तथा पुरुष २१ के.जी. मुनीदेखि ५१ के.जी. मुनीसम्मका ११ वर्गमा र पुम्सेमा १२, १४ तथा १५–१७ वर्ष उमेर समूहका तीन वर्गमा प्रतिस्पर्धा भएको थियो। नव विहानी तेक्वान्दो डोजाङ्गले उत्कृष्ट प्रदर्शन गर्दै ११ स्वर्ण, ९ रजत र ८ कास्य पदक जित्दै पहिलो स्थान हासिल गरेको छ। दोस्रो स्थानमा पिस पोइन्ट तेक्वान्दो एकेडेमी र तेस्रो स्थानमा समता तेक्वान्दो डोजाङ्ग रहेका छन्।

प्रतियोगितामा उत्कृष्ट पुरुष खेलाडी नव विहानीका एप्रीन्स तामाङ घोषित भए भने उत्कृष्ट महिला खेलाडीको उपाधि पिस पोइन्ट एकेडेमीका सरिता आचार्यले प्राप्त गरिन।

प्रतियोगिताको सफल सञ्चालनमा विशेष भूमिका निर्वाह गर्ने राष्ट्रिय तेक्वान्दो संघ ललितपुरका अध्यक्ष एवं नव विहानी तेक्वान्दो डोजाङ्गका प्रमुख प्रशिक्षक बिमल कुमार आछामि लाई आयोजकले दोसल्ला ओढाई सम्मान गरेको छ। त्यस्तै क्लबलाई निरन्तर सहयोग पुर्‍याउँदै आएकी मन्दिरा खापुङ अधिकारी लाई पनि विशेष सम्मान प्रदान गरिएको थियो।

कार्यक्रमस्थलमा नव विहानी क्लबकी महिला सदस्यहरूद्वारा निर्मित विभिन्न घरेलु उत्पादनहरूको प्रदर्शनी तथा बिक्रीसमेत गरिएको थियो, जसले स्थानीय उत्पादनको प्रवर्द्धनमा टेवा पुर्‍याएको देखिएको छ।

यसै अवसरमा स्टार आर्ट नेपाल द्वारा प्रस्तुत सांस्कृतिक कार्यक्रमले प्रमुख अतिथि लगायत सम्पूर्ण दर्शकहरूको ध्यान आकर्षित गर्न सफल भयो।

प्रतियोगिता सफलतापूर्वक सम्पन्न गर्न योगदान पुर्‍याउने सबै अतिथि, निर्णायक, खेलाडी, अभिभावक, स्वयंसेवक तथा सहयोगीहरूलाई आयोजक इमाडोल युनिटी क्लबका अध्यक्ष तथा वडा नं. १ का वडा सदस्य गोपाल श्रेष्ठ ले हार्दिक आभार व्यक्त गरेका छन्।

Leave A Reply

Your email address will not be published.