ललितपुर, । नेपाल पत्रकार महासंघ ललितपुर शाखाको समन्वय तथा गोदावरी नगरपालिकाको सहयोगमा मिडिया साक्षरता सम्बन्धी दुई दिने अभिमुखीकरण कार्यक्रम शनिबार सम्पन्न भएको छ ।
ललितपुर जिल्लाका क्रियाशील पत्रकार तथा पत्रकारिता क्षेत्रमा प्रवेश गर्न चाहने नयाँ विद्यार्थीहरूलाई लक्षित गरी कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा बागमती प्रदेशका सञ्चार रजिस्ट्रार रेवतीप्रसाद सापकोटाले सञ्चारको महत्व, समाचार सम्प्रेषणका माध्यम तथा सामाजिक सञ्जालमा फैलिने सूचनाप्रति सचेत हुनुपर्ने आवश्यकता औंल्याए । उनले सामाजिक सञ्जालमा प्राप्त सबै सूचना सत्य नहुने भन्दै तथ्यपरक र यथार्थ सूचना प्रवाहमा पत्रकारिताको भूमिका महत्वपूर्ण रहेको बताए ।
नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सुर्य सुवेदीले प्रविधिको तीव्र विकाससँगै सत्य र असत्य सूचना छुट्याउन सक्ने क्षमता अपरिहार्य भएको उल्लेख गर्दै मिडिया साक्षरता हरेक नागरिकका लागि आवश्यक रहेको धारणा व्यक्त गरे । महासंघ ललितपुर शाखाका अध्यक्ष रामहरि कार्कीले मिडिया साक्षरता स्रोताको शैक्षिक स्तर र बुझाइसँग सम्बन्धित हुने भन्दै मिडियाले समाजमा पार्ने प्रभावप्रति जिम्मेवार हुनुपर्ने बताए ।
कार्यक्रममा प्रेस काउन्सिल नेपालका पूर्व अध्यक्ष भवानी बराल, फोटो पत्रकार विकास कार्की र पत्रकार जीवन भण्डारीले पत्रकारिताको आधारभूत अवधारणा, फोटो प्रयोग तथा पत्रकारितामा कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोग विषयमा प्रशिक्षण दिएका थिए ।

Leave a Reply